काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो,’ मेयर बालेनले भने, ‘यसपालि दुईतिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन । चाँडै होस् भन्ने शुभकामना मात्रै दिनसक्छ ।’
अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनको भनाई छ । ‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै । हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ मेयर बालेनले भने, ‘अहिले पनि यो काम भएन भने कहिल्यै हुँदैन । आफ्नो स्थानीय सरकारलाई विस्तारै भन्नुहोला । मलाई पनि भन्नुहोला । हाम्रो त उमेरभन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको !’
शाहले कोटेश्वरमा पहिलोपटक महोत्सव भएकोमा खुसी व्यक्त गर्दै यहाँको छुट्टै पहिचान झल्कने गरेर काम गर्न व्यवसायीलाई आग्रह गरे ।
साथै उनले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्रिवितरण गर्न सुझाव समेत दिए ।