काठमाडौँ – संघीय संसदको संसदीय सुनुवाई समितिले श्रीलंकाको राजदूतमा प्रस्तावित पूर्णबहादुर नेपालीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाई गर्दै उहाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो । समितिमा प्रस्तावित राजदूतको सुनुवाई पछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
सभापति न्यौपानेले समावेशीताका आधारमा राजदूत नियुक्त गर्न यसअघि ध्यानाकर्षण गराएपछि सरकारले त्यसलाई सकारात्मक रुपमा लिएर त्यही अनुसारको सिफरिस गरेको भन्दै धन्यवाद दिइन् । आगामी दिनमा पनि संविधानको भावना अनुसार सभावेशीताका आधारमा सिफरिस हुने उनको विश्वास छ ।
त्यसअघि संसदीय सुनुवाईका क्रममा प्रस्तावित राजदूत नेपालीले श्रीलंकासंग आर्थिक कुटनीतिलाई अघि बढाउने र मुलुकको आर्थिक विकासका लागि भूमिका खेल्ने बताए । त्यस्तै उनले धार्मिक पर्यटन वृद्धि गर्न पनि श्रीलंकामा आवश्यक काम गर्ने जिकिर गरे ।
संसदीय समितिले प्रस्तावित राजदूतको नाम अनुमोदन गरेसंगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।