काठमाडौँ – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउने काम तीव्र रुपमा भइरहेको बताएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको २९औँ वार्षिकोत्सवका अवसरमा आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले चिडियाखानालाई विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउन भक्तपुरको सूर्यविनायकमा काम भइरहेको बताएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष समेत रहेका ठकुरीले नेपाललाई प्रकृतिमय र सम्भावनाको केन्द्रका रूपमा विकास गर्दै वनलाई सम्भावना र समृद्धिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
सदर चिडियाखानाको व्यवस्थापन कोषले गर्ने गरी निर्णय भएको भन्दै सोको कार्यान्वयन प्रयोजनका लागि सम्झौता भइसकेको उनले जानकारी दिए । मन्त्री ठकुरीले चिडियाखानाले वन्यजन्तुको उद्धार, उपचार र पुनः स्थापनामा निर्वाह गरेको भूमिकाको प्रसंसा समेत गरे । प्रकृतिको संरक्षण गर्दै जलवायु परिवर्तनको असरको न्यूनीकरण गर्ने जिम्मेवारी सवैको भएको उनको भनाइ छ ।
विसं १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर जङ्गबहादुर राणाले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ६० वर्षका लागि हस्तान्तरण गर्ने भनी विसं २०५२ पुस १४ गतेको मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । सोहि निर्णय भएको दिनलाई कोषले चिडियाखानाको वार्षिकोत्सवका रुपमा मनाउदै आएको छ ।