काठमाडौँ– चाबहिलबाट महाराजगन्जतर्फ जाँदै गर्दा सुकेधारा चोकको बायाँस्थित पाँचतारे होटल मर्क्योर निर्माण भएको छ । ३ अर्ब लगानी लगानीमा निर्मित सो होटेल माघ २ गतेदेखि औपचारिक सञ्चालनमा आउने होटलका अध्यक्ष एवं लगानीकर्ता देशबन्धु बस्नेतले बताए ।
विमानस्थलबाट नजिक होटल बनाउन पाए स्वदेशी–विदेशी पाहुनालाई सजिलो हुन्थ्यो भन्ने मनसायले व्यस्त सडक छेउमै ‘लोकेसन’ छानिएको होटलका लगानीकर्त बस्नेत बताउँछन् । ‘जहाजमार्फत आउने पाहुनालाई विमानस्थलबाट निस्किएको आठ/दस मिनेटमै होटल पुगौं भन्ने हुन्छ,’ उनले भने, ‘यही विषयलाई दृष्टिगत गरी व्यस्त सडक छेउमै होटल बनाएका हौं ।’
बौद्धनाथ र पशुपतिनाथ दर्शन गर्न आउने पर्यटकका लागि सजिलो गन्तव्य बन्न सक्ने होटेलको खासियत बताउदैँ उनी भन्छन्, ‘मर्क्योर एकोर ग्रुपको चेन होटल हो । एकोर युरोपियन ब्रान्ड हो, नेपालको पर्यटनमा १८ देखि २२ प्रतिशत युरोपियन पर्यटकको योगदान छ ।’
उनका अनुसार, होटलको सामुन्ने ढुंगेधारा बनाइएको छ । ‘सुकेधारालाई चिनाउन पुरातत्त्व विभागसँग स्वीकृति लिएर धारो बनाएका हौं,’ उनले भने, ‘सडक डिभिजन काठमाडौंसँग स्वीकृति लिएर होटल अघिल्तिर १ सय ४० मिटर सडक बनाएर कालोपत्रसमेत गरेका छौं ।’ होटल अगाडिको सडक, धारोलगायत अन्य पूर्वाधार निर्माणमा मात्र ६ करोडभन्दा बढी लगानी गरिएको उनले जनाए ।
देशमा लगानीका वातावरण कमजोर र खराब आर्थिक अवस्थाका बीच अन्तर्राष्ट्रिय ब्राण्डको चेन होटेल भित्र्याउँदै अर्बौं लगानी गर्दा देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्ति गरिएको छ । साथै रोजगारी सिर्जना र देशको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बस्नेतको भनाई छ ।
५ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा करिब चार सय जना क्षमताको ब्यांक्वेट हल बनाइएको छ । दुई वटा बैठक कक्ष छन् । थप ४ सय क्षमताको ब्यांक्वेट हल निर्माण गर्न लागिएकाले आवश्यक जग्गा थप्दै लगिने बस्नेतले सुनाए । १२ तलामाथिबाट काठमाडौं वरपरको दृश्य सहजै निकाल्न सकिन्छ । यति मात्रै नभई रोजगार प्रदानु गर्नु पनि होटेलको अर्काे बलियो पक्ष हो । होटलले अहिले १ सय ८० जनालाई रोजगारी दिएको छ । पछिसम्म २ सय २० जनालाई रोजगारी दिइने उनले जानकारी दिए ।
बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवम् पर्यटन तथा हवाई यातायात समितिका अध्यक्ष पनि हुन् । यसैगरि, उनी एबी होल्डिङका अध्यक्षसमेत हुन् । विभिन्न क्षेत्रमा होमिएका उनी यतिबेला होटेल व्यवसायमा लगानी गरिरहेका छन् । यसैक्रममा आगामी दिनमा इटहरीमा पनि अमेरिकन ब्रान्डको रमडा बाई विन्डहम होटल खोल्ने तयारीमा रहेको उनले सुनाए ।



























































