काठमाडौं(रासस)–पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।


ADVERTISEMENT


शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र उच्च पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि, मौसमी विवरण साँझ मात्र आउने भएकाले अहिले कुन क्षेत्रमा कति वर्षा भएको छ भन्ने यकिन विवरण आइसकेको छैन ।


ADVERTISEMENT

# # #


पश्चिमी वायुको प्रभाव देशका मध्य र पश्चिमी भेगमा आज रातिसम्म रहने र सोमबार बिहान पूर्वी भेगबाट बाहिरिने मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार सोमबार अपराह्नदेखि मौसममा नियमितझैं सुधार आउनेछ ।

जाडो याम भएकाले सामान्य बदली हुने क्रम अझै केही दिन जारी रहनेछ । यसअघि यही फागुन १० गते साँझ काठमाडौँ उपत्यकासहित उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा भएको थियो । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको सामान्य असरले देशभरका पहाडी भेगमा बदली र एक दुई स्थानमा हल्का वर्षा गराएको थियो ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको अधिकतम २४ र न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ । सबैभन्दा बढी दिपायलको ३१.५ डिग्री सेल्सियस छ ।