काठमाडौं – आईसीएफसी फाइनान्सले निष्काशन गरेको ऋणपत्रमा पहिलो दिनमै मागभन्दा दोब्बर बढी आवेदन गरेको छ । कम्पनीले बुधबारबाट निष्कासन गरेको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’मा दुई दिन नबित्दै २ः११ गुणा सर्वसाधारणले आवेदन दिएका हुन् ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको सात वर्षे विकास ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर-२०८८’ जारी गरेको छ। कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी १ लाख २० हजार इकाइको सार्वजनिक निकाष्सन गरेको हो ।
सार्वजनिक निष्कासन गरिएका कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी १ लाख १४ हजार इकाइमा सर्वसाधारण खरिद आवेदन दिन सक्नेछन्।
सर्वसाधारण यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि आइतबार बेलुका ५ बजेसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।
यो ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ।





























































