काठमाडौँ – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं सम्मेलन तथा निर्वाचन यहि शनिबार (माघ १२) मा हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा क्रान्तिकारी संगठनमा आवद्ध विधार्थीहरूमाझ चुनावी सरगर्मी बढ्दो छ । संगठनको अध्यक्ष पदमा मात्रै छ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
६ जना चुनावी मैदानमा होमिएर नेता र गूटको नाममा विधार्थीहरूको कित्ताकाँट हुँदा निर्वाचनको माहोल चोटिलो बन्दै गइरहेको छ । अध्यक्षको ‘हेभिवेट’ उम्मेदवारको रूपमा पर्वतका विजयप्रकाश शर्मा (सापकोटा) देखिएका छन् । पार्टीभित्र गुट अन्त्य गर्न लागि परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि ‘अघोषित’ समर्थन सापकोटालाई रहेको व्याख्या मतदाताले गरिरहेका छन् । भित्री रूपमा सापकोटालाई अध्यक्ष प्रचण्डले साथ दिएको दाबी गरिएको छ ।
त्यसो त यसअघि माओवादी अध्यक्ष प्रचण्डले सकेसम्म सापकोटालाई अध्यक्ष बनाएर सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । सापकोटालाई अध्यक्ष बनाएर सहमतिमा नेतृत्वमा चयनको प्रयास गरिएको थियो । त्यो प्रयास सफल हुन नसक्दा अन्ततः क्रान्तिकारी विधार्थीहरू नेतृत्व चयन निर्वाचनबाटै गर्न तयार भएका हुन् । सापकोटा यसअघि संगठनको उपमहासचिव थिए ।
उनले आफुलाई मत किन दिने भन्ने व्याख्या गर्दै समाजवादी मोडलको शिक्षा र संगठन विस्तारको कार्यक्रम अघि सारेका छन् । भावी नेतृत्वका दाबेदार सापकोटाको एजेण्डामा सामाजिक सञ्जालमा बहस पैरवी चलिरहँदा अध्यक्ष बाहेकका अन्य पदका उम्मेदवारहरूले पनि उनको नाम र पोस्टरसँग आफुलाई जोडेर प्रचार गरिरहेका छन् ।
शैक्षिक नीति निर्माणमा विधार्थीहरूको संलग्नता, शिक्षामा समानताको सुनिश्चितता, शिक्षाको गुणस्तर सुधारमा जोड, सचेतना र वकालत अभियान, शैक्षिक असमानताको विरोध, स्वायत्तता र आत्मनिर्भरता, शिक्षा र सेवा विस्तारमा एआई लगायत डिजिटल प्लेटफर्मको प्रयोग, सार्वजनिक संवाद र बहसको प्रवर्द्धन, ग्रासरूट लिडरसिप विकास लगायतका मुलभूत एजेण्डासहित सापकोटा नेतृत्वको लागि मैदानमा छन् । ३२ वर्षे उमेरहद लागेपछि पहिलोपटक क्रान्तिकारी विधार्थी संगठनमा नेतृत्व चयनको लागि निर्वाचन हुन लागेको हो ।