काठमाडौं–इंग्ल्यान्डमा आयोजना हुने आईसीसी विश्व कप २०१९ को लागि जिम्बाबेमा फागुन २० देखि छनोट प्रतियोगिता सुरू हुँदैछ । नेपाल सहित १० राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट हुने २ टिमले वान डे विश्वकप खेल्नेछन् । यस्तै प्रतियोगिताबाट उत्कृष्ट–३ एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउनेछ ।


ADVERTISEMENT


आईसीसीले विश्वकप छनोट अगाडि खेलाउने अभ्यास खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ ।जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरू हुनेछ । नामिबियामा केहि दिनअघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ का विजेता र उपविजेताबीच आज पहिलो अभ्यास खेल हुन लागेको हो ।


ADVERTISEMENT

# # #


दुई साताको फरकमा नेपालले युएईसँग तेस्रो पटक प्रतिश्पर्धा गर्न लागेको हो । नामिबियामा भएको डिभिजन २ मा नेपालले समूह चरणमा युएईलाई ६ विकेटले पराजित गर्दा फाइनलमा ७ रनले हारेको थियो । प्रतियोगिता अन्तर्गत समूह ‘बि’ मा रहेको नेपालले अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पहिलो खेल फागुन २० गते घरेलु टोली जिम्बावेबिरुद्द खेल्दैछ । यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले फागुन २४ गते स्कटल्याण्डको सामना गर्नेछ । लिग चरणका अन्तिम दुई खेलमा नेपालले फागुन २६ गते अफगानिस्तान र फागुन २८ गते हङकङको सामना गर्नेछ ।

दोस्रो अभ्यास खेल फागुन १७ गते हङकङसँग खेल्नेछ ।

समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । सुपर सिक्समा लिग खेल हुनेछन् । शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वतः छनोट भइसकेका छन् । छनोट प्रतियोगिताबाट २ र स्वतः छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ ।

विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ । अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन् । नेपालले एकदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ । जसका लागि छनोटमा प्लेअफ हुनेछ ।

नेपाली टिम

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।.
विश्वकप छनोटमा नेपालको खेल

फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब