काठमाडौँ – नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)को बागमती प्रदेश पार्षदमा वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिएका छन् । परिषद्मा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्नका लागि माघ २६ गते हुने पार्षदको निर्वाचनमा कोइरालाले आफूलाई अघि सारेका हुन् ।


ADVERTISEMENT


उनले नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनबाट पार्षदमा उम्मेदवारी दिएका हुन् । उनले कानुन व्यवसायको प्रगति, पेशाको विकास र कानुनी शिक्षाको समय सापेक्ष परिमार्जन गर्ने लगायतका एजेण्डा अघि सारेका छन् । महिला कानुन व्यवसायीलाई कानुन व्यवसाय गर्न सक्ने वातावरणको निर्माण, अनुभवी कानुन व्यवसायीका लागि आर्थिक टेवाका कार्यक्रम लगायतका काममा लागी पर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


को हुन् पर्शुराम कोइराला ?

विगत ३२ वर्षदेखि कानुन व्यवसाय गर्दै आएका कोइरालाले नेपाल ल क्याम्पसबाट बीएल गर्नुका साथै मुम्बई युनिभर्सिटीबाट ‘कमर्सियल ल’मा ‘स्पेसियलाइज्ड एलएलएम’ गरेका छन् । यस्तै उनी बम्बे इन्स्टिच्यूड अफ कमर्सबाट ट्याक्स प्लानिङ म्यानेजमेन्टमा डिप्लोमा गरेका उनी एक्जुक्युटिभ मास्टर्स अफ बिजनेस म्यानेजमेन्छ (ईएमबीए) समेत गरिरहेका छन् ।

उनले यस अवधिमा सर्वोच्च अदालत बार एशोसिएशनको कोषाध्यक्षको अनुभव हासिल गरिसकेका छन् । उनी हाल प्रतिलिपी अधिकार संरक्षण मञ्चका महासचिव, नेपाल कानुन समाजका सक्रिय सदस्य समेत रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, एनसेल, नेपाल दूर सञ्चार प्राधिकरण, म्युजिक नेपाल लगायतका संस्था र निकायमा कानुनी सल्लाहकारसमेत रहिसकेका छन् ।

के हो बार काउन्सिल ?

बार काउन्सिल कानून व्यवसायमा प्रवेश गर्नेहरूको परीक्षा लिने, कानून व्यवसायीमा नाम दर्ता गर्ने, व्यावसायिक आचारसंहिता निर्धारण गर्ने लगायतका अधिकार प्राप्त स्वशासित एवम् संगठित संस्था हो । जसमा नेपाल सरकारका महान्यायाधिवक्ता पदेन अध्यक्ष हुन्छन् ।

यस्तै नेपाल बार एशोसिएशनको अध्यक्ष बार काउन्सिलका उपाध्यक्ष हुन्छन् भने कूल १३ जना मध्ये ७ जना पार्षद् प्रत्येक प्रदेशबाट वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको निर्वाचन मण्डलमार्फत निर्वाचित हुन्छन् ।