काठमाडौँ– साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुन लागेको छ । सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेका कारणले केही ढिला गरी आजै मुद्दा दर्ता गर्ने तयारी छ ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यतथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भनेर फाइल प्रहरीको फर्काएपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो ।
प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।
चितवन जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिनेछ । गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।
यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका छन् ।