भोजपुर– विद्यार्थी र युवाहरूका लागि आइटी प्रशिक्षण, इन्टर्नसीप र रोजगारीका अवसरका लागि भोजपुरका गाउँ–गाउँमा आईटी अभियान सुरु गरिएको छ।


ADVERTISEMENT


पूर्व एआईजी भीम ढकालको अगुवाइ‌मा माघ २२ गते भोजपूरको अरुण गाउँपालिकाबाट यो अभियान सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


दिनहुँ हजारौँ युवाहरु देश छाडेर बाहिरिदैँ गर्दा गाउँका युवाहरूलाई आईटीको प्रशिक्षण दिएर क्षमता वृद्वि गरी गाउँघरमै बसेर आईटी रोजगार सृजना गर्न स्थानिय सरकार, सुरक्षा निकाय र अन्य कार्यलयका काम कारवाहीलाई प्रविधिमैत्री बनाउन यो अभियान थालिएको पूर्व एआईजी ढकालले बताए ।

यस अभियान‌लाई सिताराम पद‌्मकुमारी फाउन्डेशन र जेनिस सोलुसन प्रा. लि.ले प्रा‌विधिक सहयोग गरेका छन् भने स्थानिय पालिकाले प्रशिक्षण संचालनमा सहयोग गरेको छ ।

जेनिस सोलुसन‌का प्रमुख अन्जनी फुयाँलका अनुसार गाउँमा रहेका युवालाई शुरुमा आईटी प्रशिक्षण दिइने, त्यसपछि प्रशिक्षणमा उत्कृष्ट हुने ५० प्रतिशतलाई ईन्टर्नसिप गराइने र ईन्टर्नसिप राम्रो गर्नेहरुलाई रोजगारी उपलब्ध गराइनेछ ।

उक्त प्रशिक्षण भोजपुरका गाउँगाउँमा विस्तार गरिने जनाइएको छ । माघ २३ गते अरुण गाउँपालिकामा आईटी इनोभेशन सेन्टरको उद्‌घाटन पालिका अध्यक्ष शालिकराम खत्री र प्रर्व एआईजी ढकालले संयुक्त रुपमा गरे ।

उक्त अवसरमा पालिका अध्यक्ष शालिक खत्रीले यस अभियानबाट गाउँका युवाहरूको क्षमता बढ्ने र रोजगारीका अवसर वृद्धि हुने तथा युवाहरूमा मातृभूमिमै बसेर देशका सेवा गर्ने भावना जागृत गर्नमा मद्दत मिल्ने बताए ।

सोही कार्यक्रम माघ २३ गते भोजपुरको पौवा दुङमा पालिकामा पनि सम्पन्न भयो । सो क्रममा पालिकाका उपाध्यक्ष ज्योत्सना राईले अभियानबाट गाउँमा युवाहरुले रोजगार पाउने अवसर प्राप्त हुने बताइन् ।

एकै पालिकामा शुरुमा २०–२० जनाको दरले प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ ।