काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फाल्गुन ५ गतेदेखि काठमाडौंमा अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो ।
प्रतियोगीतामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनले बताए ।
प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबचि फाइनल खेल हुने प्रवक्ता शाहले बताए ।
प्रतियोगिताको टिकट दर साधारणतर्फ रु ५ सय र भीआइपीतर्फ रु एक हजार तोकिएको छ । प्रतियोगिताको अनुमानित बजेट २ करोड ५० लाख ५६ हजार रहेको एन्फाले जनाएको छ ।