काठमाडौं–जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले दासढुङ्गा दुर्घटनामा निधन हुनुभएका नेता मदन भण्डारी र जीवराज आश्रित साँच्चिकै मनका धनी र मुलुकका निम्ति उच्च नेता भएको बताएका छन् । नेकपा (एमाले)का तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सालिक अनावरण कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्दै मन्त्री पण्डितले त्यस्तो बताएका छन् । उनले नेपालमा भएका सबै नेता इमानदार भएको भए मुलुकको उहिल्यै परिवर्तन भइसक्ने बताएका छन् ।


ADVERTISEMENT


“नेता आश्रित र भण्डारीको मनमा विभेद र घमण्ड भन्ने शब्दै थिएन, मुलुकका निम्ति साँच्चिकै इमानदार र निष्ठावान नेता हुनुहुन्थ्यो,” पण्डितले स्मरण गरे ।


ADVERTISEMENT

# # #


इमानदारीपूर्वक जनता र सबैको साथ पाए आफूले एक वर्षमा धेरै काम गरेर देखाउने प्रतिबद्धता मन्त्री पण्डितले गरेका थिए । उनले भने, “इमानदारीपूर्वक सबैको साथ पाए एक वर्षमा काठमाडौँलाई मास्करहित सहर बनाउने मेरो अठोट छ, म जे भन्छु त्यही गरेर देखाउँछु, आगामी वैशाख १ गतेदेखि काठमाडौँमा धूवाँ फ्याँल्ने थोत्रा गाडीमा प्रतिबन्ध लाग्छ । ”

उनले प्लास्टिकको विकल्पको खोजी पनि आफूले गरिरहेको बताएका छन् । देश र जनताको हितमा हुने जस्तोसुकै चुनौतीपूर्ण काम गर्न तयार छु भन्दै मन्त्री पण्डितले भने, “जनताको हितका लागि आगोको मुस्लोमात्र हैन, ज्वालामुखीसँग लड्न तयार छु । ” नेपालमा प्रकृतिको अनुपम उपहार भए पनि सदुपयोग गर्न नसक्दा मुलुक पछि परेको उनले बताएका छन् । “यहाँको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र सदुपयोग गर्न सके विदेशमा भएका नेपालीलाई स्वदेश फर्काएर विदेशी पाहुनाको मनोरम थलो नेपाललाई बनाउन सकिन्छ,” मन्त्री पण्डितले भने ।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले जनताको मनमा बस्न सफल मन्त्री पण्डितको सिको अरू मन्त्री र नेताले पनि गर्नुपर्ने बताएका छन् । राधिका ट्रस्टद्वारा आयोजित सालिक अनावरण कार्यक्रममा वडाअध्यक्ष शुद्धकुमार डङ्गोलले जनताले चाहेको जस्तो मुलुकको समृद्धि गर्ने बेला आएको बताए ।

ट्रस्टकी अध्यक्ष राधिका पोखरेलले समाजका निम्ति सकेको काम सबैले गर्न आवश्यक रहेको बताइन् ।  आश्रितकी श्रीमती माया ज्ञवालीले मुलुकका लागि सबैले इमानदारीपूर्वक काम गर्न आग्रह गरेकी छिन् । काठमाडौँको गोपीकृष्णनगरस्थित आश्रितको नाममा सरकारले उपलब्ध गराएको ६ आना जग्गामा निर्मित भवन अगाडि स्वर्गीय आश्रितको मूर्ति अनावरण गरिएको हो ।