मकवानपुर– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा १६ कार्यदिनको अटोरिक्सा चालक तालिम प्रथम समूहको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको छ ।


ADVERTISEMENT


प्रहरी सेवाबाट अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारी, सेवावधि ६ महिना बाँकी रहेका बहालवाला प्रहरी कर्मचारीहरू र कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त अमर प्रहरी परिवारका सदस्यलाई प्रदान गरिन लागेको १६ दिने अटोरिक्सा चालक तालिम प्रथम समूहको समुद्घाटन गरिएको हो ।


ADVERTISEMENT

# # #


बागमती प्रदेशबाट सुरुवात भएको सो प्रशिक्षण नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारीर अमर प्रहरी परिवार तथा बहालवाला प्रहरी कर्मचारी स्वावलम्बी कार्ययोजना–२०८१ अन्तर्गत १५ पूर्व प्रहरी र ११ बहालवाला गरी २६ जनालाई १६ दिनको अटोरिक्सा चालक तालिम संचालन गर्न लागिएको हो ।

तालिमबाट जीवन निर्वाहमूखि ज्ञान, सीप दिइ उद्यमशिलतामा सहभागी गराई स्वरोजगार, स्वावलम्बी र आत्मनिर्भर बनाउन प्रेरित गर्दै आर्थिक रुपमा समृद्द बनाइ समाजमा सम्मानित जीवन यापनमा सहयोग पुर्‍याउने उद्देश्य लिइएको छ ।

“आजको प्रहरी, भोलीको पूर्व प्रहरी, देश र जनताको सच्चा पहरेदार” भन्ने बुझाइलाई आत्मसात गरी देश र जनताको सेवामा लामो समय व्यतीत गर्दाको अनुभव, त्याग र समर्पणलाई समाजमा नै आत्मनिर्भर बनाई राख्दै प्रहरीको व्यक्तिगत, पारिवारिक जीवनमा आर्थिक समृद्धि, सामाजिक जीवन प्रहरी हुदाँका बखत जत्तिकै सक्रिय बनाउदै शान्तिसुरक्षाका सच्चा पहरेदारबाट समाजमा अमनचैन राख्न टेवा पुर्‍याउने सोचका साथ यो कार्ययोजना शुरु भएको हो ।

सुरक्षित सडकको सोचलाई मध्यनजर गरी सडक नियमसँग अभ्यस्त पूर्व प्रहरीलाई सुरक्षित सवारी चलाउने आधारभूत ज्ञान, सीप र मर्मतको तालीम दिने र प्रक्रिया पुरा गरी सवारी चालक अनुमति पत्र लिइ आफ्नो पेन्सन पट्टालाई राष्ट्रिय बाणिज्य बैकमा धितो राखि किस्ता बन्दीमा टेम्पो खरिद गर्ने प्रबन्ध गर्न बागमती प्रदेश प्रहरी कार्यालयले समन्वय र सहजीकरण गरिदिने बताइएको छ ।

उक्त कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश राष्ट्रिय अनुसन्धान कार्यालय हेटौंडाका अनुसन्धान निर्देशक संजय कुमार यादव, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष, सिनियर प्रहरी अधिकृतहरु, संचारकर्मीहरु, पूर्व प्रहरी कर्मचारीहरु, सरकारी तथा गैह्र सरकारी निकायका पदाधिकारिज्यूहरू तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।