काठमाडौँ– स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा सिनियरलाई ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन् ।
उनले सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । सिंहले संगिता मिश्रसंग केही चिनजान नरहेपछि मधेसी भएकै कारण सिनियर भएर पनि उनलाई बढुवा नगरेको आरोप लगाए । मधेशी समूदायको एउटा आस्थाको केन्द्रलाई ठेस पुर्याउने काम सरकारले गरेको उनले जनाए ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो ।