काठमाडौँ– नागरिक लगानी कोषले चालू आर्थिक बर्षको पुस मसान्तसम्म दुई खर्व भन्दा बढि लगानी गरेको जनाएको छ ।
कोषको ३५ औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले चालू आर्थिक बर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरुमा २ खर्व ६४ अर्व ७८ करोड लगानी गरेको जानकारी दिए ।
सोहि अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको उनले बताए । उनले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुर्याउनका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गनुपर्ने आवश्यकता महसुस भएको बताए । कोषको लगानीलाई उचित व्यवस्थापनका लागि सबै निकायसंग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले कोषलाई सेवाप्रतिको जवाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने धारणा राखे । कोषको लगानीलाई उत्पादनशिलता क्षेत्रमा लगानी गर्नुपर्ने उनले जनाए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा केन्द्रीत गर्नुपर्ने धारणा राखे । कोष सञ्चालन गर्ने संस्थाहरुले निजी क्षेत्रको आयोजनामा समेत लगानी गर्नुपर्ने सुझाव दिए ।
विसं २०४७ मा स्थापना भएको नागरिक लगानी कोषको करोडको चुक्ता पुँजी अहिले ६ अर्ब ४८ पुगेको छ । कार्यक्रमका बिभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।