काठमाडौँ– नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले राजनीतिमा प्रवेश गर्ने प्रत्येक व्यक्तिले पाँच वर्षसम्म कुनै प्रकारको सेवा सुविधा नलिने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
उनले आइतबार ललितपुरमा नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सो कुरा उल्लेख गर्दै भने, ‘राजनीति पेशा होइन, यो सेवा हो। हामीले देशको विकासका लागि काम गर्दा कुनै व्यक्तिगत फाइदा नलिने गरी अघि बढ्नुपर्छ।’
राजनीति गर्नु भनेको जनताको सेवामा लाग्नु रहेको बताउदैँ उनले त्यसमा कुनै पनि प्रकारको भतिवाद या अनुकुलताको स्थान हुन नहुने धारणा व्यक्त गरे। राजनीति र सार्वजनिक जीवनमा शुद्धता ल्याउनका लागि यस्तो कदम आवश्यक रहेको उनको भनाई छ ।
उनले थपे, ‘हामीले संविधान संशोधन गर्दा, पार्टीको विधानमा सुधार गर्दै, जनताको विश्वास जित्न सक्नेछौं। यदि हामीले आफ्नो व्यवहार र बोलीमा परिपूर्णता राख्न सके भने, जनताले हामीलाई थप विश्वास गर्नेछन्।’
यसका साथै, बानियाँले राजनीति गर्ने प्रक्रियामा राजा, धर्म र जातको नाममा राजनीति नगर्नुपर्ने कुरा पनि स्पष्ट गरे। उनले भने, ‘राजाको नाममा राजनीति गर्न बन्द गरौँ। यो देशमा राजा, धर्म र जातका नाममा राजनीति चल्दैन।’
उनले नेपालको संविधानको महत्वलाई पनि औंल्याए र सबैलाई संविधान र समावेशी व्यवस्थाको पालन गर्न आग्रह गरे।