सप्तरी-भारत सरकारको आर्थिक सहयोगमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गरिएको छ। यस परियोजना अन्तर्गत तीन तल्ले विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरू निर्माण गरिनेछ।
शिलान्यास समारोहमा नेपालका माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरी, सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा शिलान्यास गरे।
भारत सरकारले ‘नेपाल(भारत विकास सहयोग’ अन्तर्गत २.७६ करोड रुपैयाँको लागतमा यस विद्यालय भवनको निर्माण गरिरहेको छ। यस परियोजनाले सुरुङ्गा नगरपालिका र यसका विद्यालयका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नेमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
भारत सरकारले २००३ देखि नेपालमा ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूलाई समर्थन गरेको छ, जसले नेपालका विभिन्न क्षेत्रमा पूर्वाधार निर्माणमा मद्दत पुर्याएको छ।


































































