काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको कामलाई सफल बनाउन सरकारको तर्फबाट आवश्यक सबै सहजीकरण प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनले आयोजना गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी आयोगहरू अघिल्लो समय सफल हुन नसकेको बताउँदै आगामी दिनमा यसलाई सफल बनाउन सबैको समन्वय आवश्यक पर्नेमा जोड दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने बताएका छन्। उनले विगतमा भएको अनावश्यक र अनुचित हिंसाको भविष्यमा पुनरावृत्ति नहुने सुनिश्चिता गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट सहमतिमा पारित गरिएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले अठार वर्षसम्म शान्ति प्रक्रियाले पूर्णता प्राप्त नगर्दा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई लाजको स्थिति सिर्जना भएको भन्दै अब समय गम्भीरता अपनाउने र जनयुद्धको उत्सव मनाउने वा सार्वजनिक बिदा दिने जस्ता कुरा गर्नु आवश्यक नरहेको बताए । ‘यस्ता कुराले पीडितलाई थप पीडित बनाउँछ’, उनले भने ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सरकारको कुनै निकायको कर्मचारी हटाउने विषयसँग तुलना नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले यसलाई प्रमुख मुद्दाका रूपमा प्रस्तुत गर्नुपर्ने कुरा बलियो बनाए ।

प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुक अब फर्कन नसक्ने स्थिति रहेको स्पष्ट पार्दै, सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई सफल बनाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग र साथ आवश्यक रहेकोमा जोड दिए । उनले नेपालले यस प्रक्रियालाई मौलिक तरिकाले समाधान गर्न प्रयास गर्दै आएको जनाए ।