काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्याउन कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै सभापति देउवाले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको छानविनमार्फत सत्यतथ्य उजागर गरी पीडितलाई न्याय दिलाउदै सङ्क्रमणकालीन न्यायसम्बन्धी बिषयलाई टुङ्गोमा पुराउन कांग्रेस प्रतिवद्ध रहेको बताएका हुन् ।
पीडितलाई न्याय दिने कुरामा दुई मत नरहेकाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको उनले जनाए । सभापति देउवाले सङ्क्रमणकालीन न्यायका बिषयलाई नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्न सक्नुपर्ने धारणा राखे ।
उनले सक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारिको नियुक्तिका लागि सिफारिस समिति गठन गरिसकेको भन्दै आयोगले शान्ति सम्झौंताका मर्म अनुसार सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका विषयमा सत्य अनुसन्धान सुरु गरेर न्याय दिलाउने विश्वास व्यक्त गरे ।































































