काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकष्मिक बैठक सुरु भएको छ । प्रदर्शनका नाममा राजावादीहरुले काठमाडौँको तीनकुनेमा अराजकता मच्चाएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका हुन् ।
बैठक साँझ ८ बजे बोलाइए पनि भर्खरै सुरु भएको छ । बैठकले आजको आन्दोलन र भावी रणनीतिका बारेमा महत्वपूर्ण निर्णय गर्नेछ । दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहको प्रदर्शनले उग्र रुप लिएपछि तीनकुनेमा तनावको स्थिति सिर्जना भएको थियो ।
प्रदर्शनकारी अराजक बन्दै निजी सम्पत्तिमाथि अन्धाधुन्ध तोडफोड र आगजनी गरेका थिए । घटनामा परी एभिन्यूज टेलिभिजनको क्यामरा पर्सन सुरेश रजकको निधन भएको थियो । यस्तै अर्का एक प्रदर्शनकारीको समेत निधन भएको थियो भने दर्जनौँ प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
घटनाले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले गौशालादेखि कोटेश्वरसम्म, कोटेश्वरदेखि जडिबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि नयाँ बानेश्वर चोकसम्मका क्षेत्रमा कुनै प्रकारको जुलुस, भेला, प्रदर्शन र बैठक गर्न नपाउने गरि कफ्र्यु आदेश जारी गरेको छ ।