काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
यही भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको कम्पनीले जनाएको छ । बाढीका कारण ज्यान गुमाएकाप्रति कम्पनीले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
प्राकृतिक विपत्ले प्रभावित परिवार, स्थानीय समुदाय तथा समग्र राष्ट्रलाई गम्भीर पीडा र चुनौतीको सामना गर्न बाध्य बनाएको उल्लेख गर्दै कम्पनीले यस्तो कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु जिम्मेवार संस्था तथा नागरिकको साझा दायित्व भएको जनाएको छ ।
कम्पनीका अनुसार प्रदान गरिएको आर्थिक सहयोगले पीडितले भोग्नुपरेको अपूरणीय क्षति र पीडाको पूर्ण क्षतिपूर्ति गर्न नसके पनि दुःख र संकटको घडीमा प्रभावित परिवार तथा समुदायसँगै उभिने प्रतिबद्धता, सहानुभूति र ऐक्यबद्धताको प्रतीकका रूपमा सहयोग उपलब्ध गराइएको हो । इन्स्योरेन्सले विपत्तिबाट प्रभावित नागरिकहरू एक्ला नरहेको र राहत तथा पुनःस्थापनाको यात्रामा आवश्यक सहयोग र सहकार्यका लागि कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम तथा विपत्तिको समयमा बीमितको संरक्षण गर्दै कठिन परिस्थितिमा भरोसायोग्य साथ प्रदान गर्नु रहेको बताए । उनले बाढीबाट प्रभावित बीमितको दाबीसम्बन्धी प्रक्रियालाई आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी ढंगले टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
यस कठिन परिस्थितिमा प्रभावित बीमितले थप असहजता र झन्झट व्यहोर्नु नपरोस् भन्ने विषयलाई कम्पनीले विशेष प्राथमिकतामा राखेको जनाएको छ । आवश्यक सहजीकरण, समन्वय तथा सेवा प्रवाहमार्फत प्रभावित बीमितलाई सहज रूपमा सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।































































