काठमाडौँ – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ दशमलव २ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । आर्मीका लागि बसीर अहमदले ८६ रन बनाए । प्रतियोगितामा नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत यसपटक रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशाला खेल खेलाइएको थियो ।