काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई आह्वान गरेका छन् ।
रास्वपाको केन्द्रीय समितिको बैठक बस्नुअघि आज पार्टी कार्यालय चमतिमा उपस्थित शुभेच्छुक एवं कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफू आजैदेखि सभापतिको नेतृत्वमा फर्किन लागेको बताए । “जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ, कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनु हुदैन”, उनले भने ।
दुई तिहाईको सरकारले मलाई ज्यूँदै छोड्नु नै आफ्नो जित भएको उनले बताए । ‘जुनसुकै परिस्थितिको सामना गर्न म राजनीतिमा आएको हुँ । जस्तोसुकै आक्षेप लागोस्, जुनुकै तराजुमा बसेर म आफूलाई तौलिन तयार छु ।’ उनले भने, ‘ममाथि देशका विभिन्न जिल्लाहरुमा मुद्दा लगाइएको छ । सरकारले आफूले गर्नसक्ने, हुनसक्ने जति जोडबल लगाएको छ । दुई तिहाईको सरकारले ज्यूँदै छोडेको छ, यही नै मेरो जित हो ।’
सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अलग भएका थिए । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
आजको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गर्ने र त्यसपछिको दोस्रो बैठक लामिछानेको सभापतित्वमा बस्ने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।