काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका छन् ।
बौद्धिक पेशाकर्मी अभियान परिषदले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले ठूला दल मिलेर सरकार बनेपछि जनतामा रहेको अपेक्षा अनुसार सरकार अघि बढ्न नसकेको बताएका हुन् ।
‘देशलाई चाहिएको छ कंकडको स्पिड । आज एउटा भोली एउटा, पर्सी एउटा । एउटा माहोल बनाउनुपर्ने छ’, उनले भने, ‘सरकार ट्याक्टरको स्पिडमा छ ।’ उनले जोश, उत्साह र समर्पन सरकारको नेतृत्वबाट हुन नसकेको जिकिर गरे ।
नागरिकको अवस्था बदल्न व्यवस्था बदल्ने कुरामा छलफल गर्न आवश्यक नरहेको भन्दै उनले नेतृत्वको शैलीको कारण जनताको अवस्था नबदलिएको धारणा राखे । यसका लागि नेतृत्वको शैली वा नेतृत्व नै बदल्न जरुरी रहेको उनको भनाइ छ ।
त्यस्तै महामन्त्री थापाले अहिले बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने गरेकाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको धारणा राखे । राष्ट्र बैंकको गभर्नरबारे छलफल हुँदा बिचौलियाको मान्छे भनेर खुलारुपमा बहस र छलफल हुने अवस्था उचित नभएको उनले जनाए ।
थापाले देशमा देखिएका समस्या समाधान कांग्रेसले गर्छ भन्ने भरोषा जनतालाई महशुस गराउन सक्नुपर्नेमा जोड दिए ।