काठमाडौं – नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाहीले पार्टीको १५औं महाधिवेशनमा अघि बढ्नुअघि भ्रातृसंस्थाहरूको अधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन्।


ADVERTISEMENT


धुम्बाराहीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता शाहीले पार्टीको संरचनात्मक मजबुतीका लागि भ्रातृसंस्थाको लोकतान्त्रिक प्रक्रिया पूरा गर्नु अनिवार्य रहेको धारणा राखे। ‘भ्रातृसंस्थाहरू अस्तव्यस्त छन्, अधिवेशन नहुँदा नेतृत्वमा वैधता छैन। यस्तो अवस्थामा पार्टीको महाधिवेशनतर्फ ध्यान केन्द्रीत गर्नु हास्यास्पद हो’, उनले भने।


ADVERTISEMENT

# # #


उनका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक तयारी र प्रक्रिया पूरा नभएको अवस्थामा बारम्बार समय थप गर्नुको कुनै अर्थ छैन। “महाधिवेशन गर्न ६ महिना समय थप गर्नुपर्छ, तर त्यसपछि पनि गर्न नसक्ने हो भने सधैं समय थप्ने कामको औचित्य रहँदैन,” उनले जोड दिए।

कांग्रेसले आफ्ना १३ वटा भ्रातृसंस्थालाई चालु वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो। तर हालसम्म ५ संस्थाले मात्र महाधिवेशन सम्पन्न गरेका छन्। बाँकी ७ संस्थाहरू अझै पनि तदर्थ समितिमै चलिरहेका छन् भने ठाकुर संघमा तदर्थ समिति समेत गठन भएको छैन।

महत्वपूर्ण भ्रातृसंस्थाहरू — नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतले अझै महाधिवेशन गर्न सकेका छैनन्। किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ पनि अधिवेशनविहीन अवस्थामा छन्।

नेता शाहीले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउँदै मात्रै आगामी महाधिवेशनको सन्दर्भमा अघि बढ्न सकिने स्पष्ट पारे।