काठमाडौं — काठमाडौं उपत्यकामा राप्रपाले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि सुरक्षालाई कडा बनाइएको छ। राजधानीका विभिन्न संवेदनशील स्थानहरूमा प्रहरीले ‘सर्च एण्ड कर्डन’ ड्युटी तैनाथ गरेको छ भने ट्राफिक व्यवस्थापनमा समेत अवरोध देखिएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार, आम नागरिकको दैनिक जीवन प्रभावित नहोस् भन्ने उद्देश्यसहित सुरक्षाकर्मी परिचालन गरिएको हो। तर, भीड नियन्त्रण र सुरक्षाको तयारीस्वरूप प्रहरीलाई उच्च सतर्कतामा राखिएको छ।
संवेदनशील स्थानमा सुरक्षा कडाइ
निषेधित क्षेत्र तोड्ने चेतावनीसँगै काठमाडौंका प्रमुख सरकारी निकायहरूलाई लक्षित गर्दै विशेष सुरक्षा ड्युटी तोकिएको छ। सिंहदरबार र सर्वोच्च अदालत क्षेत्रका लागि भद्रकाली र माइतीघरमा कर्डन ड्युटी खटाइएको छ भने सिंहदरबारतर्फ जाने सडकमा छुट्टै टोली तैनाथ गरिएको छ।
त्यसैगरी, संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सुरक्षाका लागि बबरमहलदेखि तीनकुनेसम्म, राष्ट्रपति निवास लक्षित गर्दै महाराजगञ्ज र नारायणगोपाल चोक आसपास, उपराष्ट्रपति कार्यालयको सुरक्षाका लागि लैनचौर र बालाजु क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारको सुरक्षाका लागि नक्साल र भाटभटेनी क्षेत्र वरपर, सभामुख निवासतर्फ सम्भावित भिड नियन्त्रित गर्न गैरीधारा–खोर्सानीटार क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ।
ट्राफिक व्यवस्थापनमा असर
कर्डन ड्युटी र सुरक्षा तैनाथीका कारण माइतीघर, सिंहदरबार, बालुवाटार, बबरमहल लगायतका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ। उपराष्ट्रपति कार्यालय क्षेत्रतर्फ जाने सवारी साधनलाई अस्कल क्याम्पसबाटै मोडिने र डाइभर्ट गरेर ठमेल मार्ग प्रयोग गराउने योजना प्रहरीको छ।
प्रहरी स्रोतका अनुसार, भिड नियन्त्रणका लागि पर्याप्त जनशक्ति, हातहतियार र सडक अवरोध गर्न सक्ने व्यारिगेट्ससहितको तयारी गरिएको छ। साथै, उपत्यकाका विभिन्न प्रहरी युनिट, गण र गुल्मका टोलीलाई स्ट्याण्डबाईमा राखिएको छ।
राप्रपाले स्थानीय प्रशासनसँग कुनै औपचारिक अनुमति नलिइकन प्रदर्शनको चेतावनी दिएको र कार्यक्रम स्थल पनि नतोकेको प्रहरीले जनाएको छ। यसले गर्दा थप संवेदनशीलता बढेको छ भने प्रहरी तैनाथी र सुरक्षा रणनीति अझ कडा बनाइएको छ।