काठमाडौं – डिभाइन हेल्थकेयर लिमिटेडद्वारा सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।


ADVERTISEMENT


यसै सन्दर्भमा, विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा डिभाइन हेल्थकेयरको तर्फबाट अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरु मनोज के.सि.र विनय तोदी समेत सहभागिता रहेको थियो ।

२०७४ कार्तिक १४ गते स्थापित डिभाइन हेल्थकेयर लिमिटेड भरतपुर महानगरपालिका–१६, विजय नगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग -DDA, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन तथा बजारीकरण सम्बन्धी दर्ता तथा स्वीकृति प्राप्त गरी गुणस्तरीय मानव औषधिहरूको बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले हाल ६७ प्रकारका औषधिहरू उत्पादन तथा नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीद्वारा उत्पादित औषधिहरूमध्ये Acidex, Nexofast 5 , Pregex Range लगायतका औषधिहरू बजारमा उल्लेखीय मात्रामा बिक्री–वितरण हुँदै आइरहेका छन् । कम्पनीले यहि माघ महिनादेखि COPD -Chronic Obstructive Pulmonary Disease का बिरामीहरूका लागि आवश्यक DPI -Dry Powder Inhaler औषधिको समेत उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

करिब १ बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको तथा हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई  Loan Free मुख्य रूपमा स्वपूँजीबाट सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरकहरूको सञ्जाल रहेको छ ।

साथै, सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीलाई कम्पनीले नयाँ प्रविधिको विस्तार, नयाँ औषधिहरूको विकास, विद्यमान औषधिहरूको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकास  Research & Development मा प्राथमिकताका साथ उपयोग गर्ने लक्ष्य राखेको छ ।