काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौँमा सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन्। राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको मागसहित हुने प्रदर्शनबाट सरकारले नडराउनुपर्ने समेत लिङ्देनले बताएका छन्।


ADVERTISEMENT


राप्रपाले राजधानीको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। यसअघि पार्टीले निषेधित क्षेत्र तोड्ने निर्णय सार्वजनिक गरेपछि गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै कानुन विपरीतको गतिविधि भए कारबाही हुने चेतावनी दिएको थियो।


ADVERTISEMENT

# # #


अध्यक्ष लिङ्देनले प्रदर्शनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश व्यक्त गर्दै लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई ‘यति मात्र बोल, यो मात्र बोल, अनि यो बाटो मात्र हिँड’ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रविरुद्धको प्रतीकात्मक र शान्तिपूर्ण प्रदर्शन हो। जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं।’

उनी थप लेखेका छन्, “वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्षी शक्ति हो। हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।”

आजको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभित्र व्यापक सुरक्षा तयारी मिलाइएको छ। प्रहरी प्रशासन र जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीहरूले सुरक्षा रणनीति बनाइसकेका छन्।

यसअघि, चैत १५ गते राप्रपाका नेताहरूको सहभागितामा तीनकुनेमा भएको प्रदर्शन केही हिंसात्मक रूप लिएको थियो भने चैत २६ गते बल्खुमा भएको प्रदर्शन शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको थियो।

निषेधित क्षेत्र तोड्ने भनिएपछि आजको प्रदर्शनमा पनि अप्रिय घटना हुन सक्ने आशंकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।