काठमाडौँ– ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि देखाइएको अत्याचारको श्रृंखला फेरि दोहोरिएको छ।


ADVERTISEMENT


हिजो काठमाडौँको सडकमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारण व्यक्तिमाथि लात्ती, मुक्का र लछारपछार गर्दै गरिएको ज्यादतीको भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै आज ट्राफिक प्रहरीको कर्तुत खुल्ने अर्काे भिडियो पनि सार्वजनिक भएको छ ।


ADVERTISEMENT

# # #


भिडियोमा एक प्रहरीले अन्दाजी २०–२२ वर्षीय युवकलाई लखेटेरै कुटपिट गरिरहेको देखिन्छ । प्रतिवाद स्वरुप युवकले भाग्न छोडेर ट्राफिकलाई ‘के गर्नु भएको दाई ?’ भनेको पनि भिडियोमा सुन्न सकिन्छ । जवाफमा ती प्रहरीले युवकको कठालो समाउदैँ ‘किन भागेको ? पुलिसलाई देख्न पाएको छैन..’ यति भनी नसक्दै उनले ती युवकलाई कुट्छन् ।

बर्दी लगाएका सुरक्षाकर्मीहरूले कानूनको पालन गराउने जिम्मेवारी हुँदाहुँदै आफैंले कानूनको धज्जी उडाएको देखिन्छ। यससंगै जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीको व्यवस्था र कानुनमै प्रश्नचिञ्ह खडा भएको छ ।

हिजो मात्र सुन्धारामा एक ट्राफिक प्रहरीद्वारा सर्वसाधारणलाई मरणासन्न हुने गरी कुटपिट गरिएको भिडियोको असर सेलाउन नपाउँदै फेरि यस्तो घटनाले आम जनमानसमा आक्रोश थपिएको छ।

सामाजिक सञ्जालमार्फत सर्वसाधारण तथा विभिन्न अधिकारकर्मीहरूले यस्ता घटनाले नेपाल प्रहरीको साखमा गम्भीर आघात पुगेको भन्दै तीव्र आलोचना गरेका छन्। ट्राफिक प्रहरीको जिम्मेवारी सार्वजनिक शिष्टाचार कायम गर्नु हो, तर उल्टै दादागिरी देखाउनु गम्भीर चिन्ताको विषय बनेको छ।

यस विषयमा नेपाल प्रहरी वा सम्बन्धित निकायको औपचारिक प्रतिक्रिया आउन बाँकी छ। तर लगातार भइरहेको यस्ता घटनाले प्रहरी सुधारको माग झनै चर्किएको छ।