काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि केन्द्रित हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा गोरखा भूकम्पको १० औ स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिबाट जोगिने खालका संरचना निर्माणका लागि कानुनी र व्यवहारिक अड्चनहरु, बाधाहरु, व्यवधानहरुलाई समाधान गर्नुपर्ने उल्लेख गरे ।
भूकम्प लगाएत प्राकृतिक प्रकोपबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता रहेको उनले बताए । उनले ७२ सालको भूकम्पपछि उद्दार कार्यमा, राहत कार्यका साथै पुर्ननिर्माणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट भएको सहयोग प्रंसशनीय रहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले बिनासकारी भूकम्प गएका बेला राष्ट्रिय एकता कायम भएको स्मरण गरे । उनले राष्ट्रिय र राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य रहेको धारणा राखे । त्यस्तै सुशासन र विकासका प्रश्नहरुमा पनि राष्ट्रिय एकता अनिवार्य हुनुुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुने भएकाले प्रतिस्पर्धालाई स्वस्थ र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुुपर्नेमा जोड दिए ।
उनले आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक हुनुपर्ने कुरामा ध्यान दिनुपर्ने बताए । विसं २०७२ वैशाख १२ गते अर्थात् १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । ७.६ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए । उक्त भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए ।