काठमाडौँ – निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई पछिल्लो समय सार्वजनिक यातायातको नियमित प्रयोगमा देखिँदै आएकी छिन्। केही दिनयता सामाजिक सञ्जालमा सफा टेम्पो चढ्दै संसद् आउजाउ गरिरहेकी भट्टराईका तस्वीरहरू भाइरल भइरहेका छन्।
गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएपछि मन्त्री पदबाट अलग भएकी भट्टराईसँग अहिले निजी सवारी साधन छैन। राजीनामा दिएकै दिन उनले सरकारबाट उपलब्ध गराइएको सरकारी सवारी र सुरक्षाकर्मी पनि त्यागेकी थिइन्। त्यसपछि उनले मन्त्री निवास समेत छाडेकी हुन्।
‘मसँग अहिले सवारी साधन छैन,’ भट्टराईले भनिन्, ‘संसद् आउजाउ गर्दा सधैं टेम्पो प्रयोग गर्छु।’ उनले आफू चढ्ने टेम्पोको कुरा समाचारको विषय बन्नुपर्ने नलागेको समेत स्पष्ट पारिन्।
चाबहिलमा बसोबास गर्दै आएकी सांसद भट्टराई आइतबारको संसद् बैठकमा सहभागी हुन चाबहिलबाट नयाँ बानेश्वरसम्म सफा टेम्पोमै यात्रा गर्दै पुगेकी थिइन्।
पूर्वमन्त्री भट्टराई कास्की क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन्। उनका श्रीमान् स्व। रवीन्द्र अधिकारी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए। ताप्लेजुङको पाथीभरा नजिकै हेलिकोप्टर दुर्घटनामा उनको निधन भएको थियो।
श्रीमान्को निधनपछि उपप्रध्यापक पदबाट राजीनामा दिएर विद्या भट्टराई राजनीतिक यात्रामा सक्रिय भएकी हुन्। अहिले मन्त्री पदबाट हटेपछि पनि उनले सार्वजनिक जीवनलाई सरल र सादा ढंगले अघि बढाइरहेकी देखिन्छिन्।