काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन् ।
आइतबार काठमाडौंमा मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर त्यस्ता आरोप लगाएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् ।
देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए । आजकाल निलो रंगका स्यालहरु निकै हाउभाउ गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तिनीहरुको वास्तविक रुप लामो समय नटिक्ने धारणा राखे ।
उनले काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुुस भएको टिप्पणी गरे । ओलीले समयको आवश्यकता र देशको अर्थतन्त्र जोगाउन ठूला दुई प्रतिष्पर्धी दलहरु मिल्नुपरेको बताऐ ।
उनले जबजको मार्गदर्शन र सही विचार अंगिकार गरेकाले एमाले देशको प्रमुख पार्टी बनिरहेको उल्लेख गर्दै एमालेबिरुद्धको भ्रम तोड्दै ’मिसन ८४’ मा राष्ट्रिय शक्तिको रुपमा स्थापित हुने दावी गरे।
उहाले बिभिन्न बहानामा पार्टी नेतृत्वलाई समेत कमजोर पार्ने काम भइरहेकाले सचेत हुन आग्रह गर्नुभयो । पार्टीभित्रको आलोचनात्मक चेत र पार्टी बाहिर विरोध गर्नै नसक्ने, लड्नै नसक्ने, झुटको विरोध गर्न नसक्ने देखिएको उनले बताए ।