नयाँ दिल्ली— युद्धविरामका लागि सहमति भएपनि पाकिस्तानले सम्झौता उल्लङ्घन गरेको भन्दै भारतले कडा प्रतिक्रिया दिएको छ।
भारतका अनुसार, पाकिस्तानले हालै सम्पन्न युद्धविराम सम्झौतालाई तोड्दै सीमावर्ती क्षेत्रमा आक्रमण जारी राखेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतवार आयोजित विशेष पत्रकार सम्मेलनमा पाकिस्तानको यस्तो व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।
‘भारत र पाकिस्तानका सैन्य अपरेशनका महानिर्देशकहरूबीच युद्धविरामको सहमति भएपनि पछिल्ला केही घण्टादेखि लगातार उल्लङ्घन भइरहेको छ। यो सहमतिको स्पष्ट उल्लङ्घन हो’, मिस्रीले भने।
उनका अनुसार भारतीय सशस्त्र बलहरूले यस्ता उल्लङ्घनहरूको कडा र उपयुक्त जवाफ दिइरहेका छन्। भारतले पाकिस्तानलाई यस्ता गतिविधिहरू तुरुन्त रोक्न र परिस्थिति गम्भीरता तथा जिम्मेवारीका साथ सम्बोधन गर्न आह्वान गरेको छ।
‘सशस्त्र बलहरूलाई अन्तर्राष्ट्रिय सीमा र नियन्त्रण रेखामा भइरहेका बारम्बारका उल्लङ्घनहरूलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिइएको छ। हामीले स्थिति माथि बलियो नियन्त्रण कायम गरेका छौं’, मिस्रीले स्पष्ट पारे।
गत साँझ दुवै देशका विदेशमन्त्रीहरूले युद्धविरामको सहमतिलाई पुष्टि गरेका थिए। तथापि, सम्झौता भएको केही समयमै पाकिस्तानले आक्रमण जारी राखेको भारतको आरोप छ।