काठमाडौँ – राजसंस्था पुनस्र्थापनाको लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले आन्दोलनलाई निरन्तरता दिएको छ ।
राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग राख्दै राजावादीहरुले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले संघीयता खारेज गर, गणतन्त्र खारेज गर, हिन्दुराष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।
राजा र जनताबीचको एकतालाई फेरि जोड्ने र सनातन धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने आफूहरुको संयुक्त प्रयास भएको समितिले जनाएको छ ।
प्रदर्शनका क्रममा राप्रपा नेता ज्ञानेन्द्र शाहीले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले राजसंस्था र हिन्दू राज्यसहितको नयाँ व्यवस्था कायम हुनुपर्ने बताए ।
उनले मुलुकमा राष्ट्रपति नभइ अभिभावकीय संस्थाका रुपमा राजा चाहिने बताए । राजसंस्था पुनस्र्थापनाको लागि आफुहरुको आन्दोलन निरन्तर रहने समितिले जनाएको छ । आन्दोलनका क्रममा शनिबार दरवारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने राजावादीहरुले जनाएका छन् ।