काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको पहिलो खेलमा घरेलू टोली स्कटल्याण्डले नेपाललाई २९७ रनको चुनौती दिएको छ ।
स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको हो ।
स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रनको पारी खेले । त्यसक्रममा उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिन्ले म्याक्रिथले ५५, कप्तान रिचि बेयरिङ्टनले ४० तथा म्याथु क्रसले ३९ रन बनाए ।
स्कटिस ब्याटरसामू नेपाली बलर निरीह साबित भए । नेपालका लागि रिजन ढकाल, सोमपाल कामी र करण केसीले समान २–२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट मात्रै लिन सके ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ । लिग–२ मा खराब प्रदर्शन गरेपछि १२ खेलमा ६ अंकसहित पुछारमा रहेको नेपालका लागि स्कटल्याण्ड सिरिज निकै महत्वपूर्ण रहेको छ । जहाँ नेपालले स्कटल्याण्ड र नेदरल्याण्डसँग २–२ खेल खेल्नेछ ।