काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकसँगको विश्वास र साझेदारीलाई सुदृढ गर्दै उत्कृष्ट, अनुशासित र उच्च मनोबलयुक्त प्रहरी संगठन निर्माणमा जोड दिएको छ।


ADVERTISEMENT


नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार सम्पन्न राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ लाई सम्बोधन गर्दै उनले प्रहरी संगठनको कार्यसम्पादनमा एकरूपता कायम गर्दै नागरिकलाई प्रभावकारी र भरोसायोग्य सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई उत्साह र उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । योग्यता, क्षमता र कार्यसम्पादनका आधारमा प्रहरी जनशक्तिको उचित व्यवस्थापन गर्दै राम्रो कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

उनले बदलिँदो सुरक्षा चुनौतीअनुसार अपराधको प्रवृत्ति र जोखिमको विश्लेषण गरी जोखिमआधारित प्रहरी परिचालन गर्न तथा प्रमाणमुखी र प्रविधिको रणनीतिक उपयोगमा आधारित अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन निर्देशन दिए । विगतका घटना र अनुभवको पुनरावलोकन गरी सूचना सङ्कलन तथा विश्लेषणका आधारमा एकीकृत सुरक्षा योजना बनाएर सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो।

प्रहरी महानिरीक्षक कार्कीले सुशासन, अनुशासन, आन्तरिक उत्तरदायित्व र व्यावसायिक कार्यसम्पादनलाई संगठन सुदृढीकरणको आधारका रूपमा लिनुपर्ने बताए। केन्द्रदेखि प्रदेश र मातहतका सबै प्रहरी कार्यालयको कार्यसम्पादनमा आवश्यक समन्वय र एकरूपता कायम गर्दै कमीकमजोरी सुधार गर्नुपर्ने उनले निर्देशन दिए ।

बैठकमा समीक्षा गरिएका विषयलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आगामी कार्ययोजनामा कार्यान्वयन गर्नुपर्नेमा समेत उनले जोड दिए।

बैठकमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरिएको थियो।

बैठकमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, सुरक्षा चुनौतीको सामना र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो।