काठमाडौं – स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले सम्हाल्ने भएका छन्।
स्वास्थ्यमन्त्री निशा मेहताले गत शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो। डा. पौडेलले सोमबार जिम्मेवारी पाएका हुन् ।
यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए। डा. भट्टचन विभागको निमित्त महानिर्देशकसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकसमेत थिए। पौडेललाई नयाँ जिम्मेवारी दिएसँगै भट्टचनले अब महाशाखा निर्देशकको जिम्मेवारी मात्रै सम्हाल्नेछन्।
स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२औँ तहको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डा. संगिता मिश्रा तानिएपछि स्वास्थ्य मन्त्रालयमा १२औँ तहका चिकित्सकमध्ये डा. श्रीकृष्ण श्रेष्ठ मात्रै कार्यरत रहेको बताइएको छ।
































































