काठमाडौँ – करण केसीले सनसनीपूर्ण ब्याटिङ गरेपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले शानदार जित हात पारेको छ । नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो ।


ADVERTISEMENT


स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनायो । २९७ रनको विशाल चुनौती पच्छ्याएको नेपालका लागि करण केसीले नायकी प्रदर्शन गरेपछि ४९.५ ओभरमा ९ विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


नेपालका लागि करण केसीले ४१ बलमा नटआउट ६५ रन बनाए । त्यसक्रममा उनले ३ चौका र ४ छक्का ठोके । यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिले विकेटका लागि ७२ रनको साझेदारी गरे । त्यसक्रममा कुशलले ४४ बलमा ११ चौकाको मदतमा ५३ रन बनाए भने आशिफले ३३ बलमा २ चौकाको मदतमा २० रन जोडे ।

त्यसपछि तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र भीम सार्कीले ७४ रनको पारी खेले । त्यसक्रममा भीमले ४० र रोहितले ३७ रन बनाए । आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले दोहोरो अंक छुन नसकेपछि ३७.३ ओभरमा १९६ रन बनाउँदा ६ विकेट गुमाउन पुग्यो । दबाबमा आएको नेपाललाई करण केसी र गुल्शन झाले आक्रामक ६२ रनको साझेदारी गरेपछि नेपालले जितका आधार तय गर्यो ।

तर, गुल्शन ३० बलमा ३ चौका र ३ छक्का हानेर ४२ रन बनाउँदा आउट भएपछि नेपाल पुनः दबाबमा आयो । करणले आफ्नो अनुभव र साहसलाई प्रयोग गर्दै ३८ रनको साझेदारी गरे । उनले ४९औँ ओभरमा सफायान सरिफलाई १८ रन हानेपछि नेपालले अन्तिम ६ बलमा ७ रन बनाउनुपर्ने थियो । तर ५०औँ ओभरको पहिलो बलमा सन्दीप आउट भए । नेपाल पुनः दबाबमा आयो । अन्तिममा ब्याटिङ गर्न आएका तेस्रो बलमा करणलाई स्ट्राइक दिएपछि करणले नेपाललाई जित दिलाउन सफल भएका हुन् ।

बलिङतर्फ स्कटल्याण्डका ब्राण्डन म्याक्मुलनले सर्वाधिक ३ विकेट लिए भने ज्याक जार्भिस र माइकल लिस्कले समान २–२ तथा जास्कर डेभिड्सन र मार्क वाटले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङतर्फ चार्ली टियरले सर्वाधिक ८० रनको पारी खेले । त्यसक्रममा उनले ७२ बलमा १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिन्ले म्याक्रिथले ५५, कप्तान रिचि बेयरिङ्टनले ४० तथा म्याथु क्रसले ३९ रन बनाए ।

स्कटिस ब्याटरसामू नेपाली बलर निरीह साबित भए । नेपालका लागि रिजन ढकाल, सोमपाल कामी र करण केसीले समान २–२ विकेट लिए । सन्दीप लामिछानेले १ विकेट मात्रै लिन सके ।

आजको जितसँगै नेपालले लिग–२ मा १३ खेलमा ३ जित, ८ हार र २ अनिर्णितसहित ८ अंक बटुल्दै ७ राष्ट्र सम्मिलित लिग–२मा छैटौँ स्थानमा उक्लिएको छ । नेपालले अर्को खेल बुधबार नेदरल्याण्डसँग खेल्नेछ ।