मनहरी– नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले बिहिवार मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–६ का विभिन्न स्थानमा निर्माण सम्पन्न भएका पाँच पूर्वाधारको उद्घाटन गरेका छन्।
मनहरी ६ स्थित रमौली प्रतापुरको १ किलोमिटर कालोपत्रे सडक, जोगीताल पक्की पुल, सुनाचुरी जोगीताल १ किलोमिटर सडक, तिलेश्वर मन्दिर र सुनाचुरी गुम्बाचोकस्थित क्लब भवन तथा जिम क्लबको एक कार्यक्रमका बीच नेता बानियाँले उद्घाटन गरेका हुन् ।
कांग्रेस सभापति एवं बागमती प्रदेशसभा सदस्य बानियाँले मनहरी गाउँपालिकाको ६ नम्बर वडा अरु वडाभन्दा भौगोलिक दृष्टिले ठूलो र दुर्गम रहेको बताउँदै यस वडामा प्रदेश र स्थानीय तहको समन्वयमा विगतदेखि नै विभिन्न विकास निर्माणका योजना सञ्चालन हुँदै आएको बताए । ब्यक्तिको आस्था जुनसुकै पार्टीमा रहनसक्ने भएकाले जनप्रतिनिधिले जनता र गाउँको विकासमा राजनीति गर्न नहुने बताए ।
नेता बानियाँले चितवन राष्ट्रिय निकुञ्जबाट यहाँका स्थानीय जनताको विकासमा आएका अवरोधहरुलाई प्रदेश र स्थानीय तहसंग समन्वय गरेर समाधान गर्दै तटबन्ध, बाटो र अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्दै वडा, पालिका र प्रदेश सरकारको समन्वयमा स्थानीय जनतालाई रोजगारी तथा आयआर्जनमा जोड्ने योजनामा जनप्रतिनिधिलाई आग्रह गरे ।
बागमती प्रदेश, मनहरी गाउँपालिका र वडाबाट बिनियोजित बजेटद्वारा निर्मित पूर्वाधारको उद्घाटन कार्यक्रम मनहरी ६ का वडा अध्यक्ष युवराज थपलियाको सभाध्यक्षता तथा नेता बानियाँको प्रमुख आथित्यतामा भएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का वडा अध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।