काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राङ्गारिक मल प्रयोग गरेर खेती गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।
धान दिवसका अवसरमा विश्व विनायक महिला कृषक समूह र राष्ट्रिय महिला किसान महासंघले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले प्राङ्गारिक मल प्रयोग गरेर खेती गर्ने किसानको उत्पादनलाई प्रोत्साहन गर्दै उनीहरुलाई सरकारले अनुदान दिनुपर्ने बताएका हुन् ।
विषादीका कारण मानवस्वास्थ्यलाई समेत असर पर्ने भएकाले अर्गानिक प्राङ्गारिक उत्पादनको माग संसारभर रहेको उनले बताए । उनले धान दिवसको एक दिनमात्रै नभइ सधै किसानहरु एक भएर स्थानीय उत्पादनमा क्रियाशिल हुनुपर्ने धारणा राखे ।
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवालेले जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिएको बताए । उनले विषादी प्रयोग नगरी रैथानी उत्पादनलाई जोड दिन सके उत्पादन बढ्ने र मानवस्वास्थ्यलाई पनि फाइदा पुग्ने धारणा राखे ।
उनले असार १५ गते दहि चिउरा खाने प्रचलन वैज्ञानिक हिसावले समेत मानवस्वास्थ्यका लागि हितकर रहेको बताए । कार्यक्रममा कांग्रेस प्रवक्ता महतले किसानहरुलाई धानको बिउ प्रदान गरी रोपाई कार्यक्रमको शुभारम्भ गरेका थिए ।