गण्डकी – बेगनासतालस्थित बेगनास बराह प्राचीनकालदेखि ठूलो आस्था र विश्वास बोकेको धार्मिकस्थल भए पनि यो अझै पनि प्रवर्द्धनको पर्खाइमा छ भन्दा अत्युक्ति नहोला । प्रचारप्रसार र पूर्वाधार विकासका कारण बेगनास बराहको अहिलेसम्म पनि धार्मिक पर्यटकीय उपयोग हुन सकेको छैन ।
धार्मिक आस्था एवं विश्वासका साथ परापूर्वकालदेखि पूजाआजा गर्दै आइएको बेगनास बराहको प्रचारप्रसारसँगै यहाँको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका लागि पछिल्लो समयमा यहाँका सामाजिक सङ्घसंस्था क्रियाशील बनेको बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताउँछन् ।
सात तालको बाटिका सहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनासताल पारी किनारामा रहेको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ यसको प्रचारप्रसारका साथै पूर्वाधार विकासका कामहरू अघि बढाइएको उनले जानकारी दिए । यहाँका बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास तालबराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको उनको भनाइ छ ।
साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा यसअघि नै पदमार्ग, बस्ने ठाउँ, वनभोज स्थल आदिको निर्माण गरिसकिएको थियो । बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि पुरातत्व विभागका प्राविधिकले समेत आएर यहाँको अध्ययन गरिसकेका छन् ।
अध्यक्ष अधिकारीका अनुसार हालै बेगनास ताल परिसरमा बराहको मन्दिरसँगै लक्ष्मीनारायण, पञ्चायन देवता मन्दिर आदिको निर्माण गरिएको छ । बराहको प्राचीन शिलालाई भने जस्ताकोतस्तै राखिएको उनले जानकारी दिए। बराह मन्दिरसहित लक्ष्मीनारायण, पञ्चायन मन्दिरलगायतको पूर्वाधार निर्माणका लागि करिब दुुई करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यहाँका मन्दिरसहितका पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु ८० लाख बजेट विनियोजन भएकामा प्राविधिक मूल्याङ्कनलगायतका कारणबाट रु ६० लाख प्राप्त भएको थियो ।
त्यस्तै सङ्घीय सरकारबाट रु २७ लाख तथा बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाबाट रु ३८ लाख विनियोजन भई काम गरिएको छ । मन्दिरका मूर्ति, गजुरलगायतका विभिन्न सामग्रीका लागि विभिन्न भक्तजन एवं दाताबाट पनि सहयोग प्राप्त भएको अधिकारीले जानकारी दिए।
पूर्वाधार निर्माणकै क्रममा यहाँस्थित डुङ्गाघाट रु १० लाख ६५ हजार निर्माण गरिएको छ भने त्यहाँ नजिकै पर्यटकलाई लक्षित गरी रु दुई लाखको लागतमा प्रतीक्षालय निर्माण गरिएको छ । त्यस्तै रेलिङलगायतका संरचना पनि निर्माण भएका छन् । मन्दिरलगायतका विभिन्न संरचना निर्माण भएसँगै बेगनास तालमा आउने पर्यटकलाई बेगनास बराह क्षेत्रमा पुु¥याएर यहाँको धार्मिक महत्वलाई पर्यटकीय रुपमा उपयोग गर्न खोजिएको छ ।
बेगनास तालमा आउने पर्यटकलाई डुङ्गामार्फत बराह मन्दिरसम्म पुर्याउनका लागि बेगनास डुङ्गा व्यवसायी सङ्घले सहुलियतपूर्ण दरमा भाडादर तय गरेको बेगनास डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष रविराज कँडेलले जानकारी दिए । दूरीका दृष्टिले सामान्य डुङ्गाबाट मन्दिरमा पुगेर दर्शन गरी फर्कन दुई घण्टाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उनले चार जनाका दरले एउटा डुङ्गामा चढेर फर्कने दर्शनार्थीलाई भाडास्वरुप सात सय रुपैयाँ मात्र लिने गरिएको बताए।
“हामीले डुङ्गामा सयर गर्न चाहने पर्यटकलाई एउटा डुङ्गा भाडास्वरुप प्रतिघण्टाका लागि सात सय रुपैयाँ पाँच वर्षअघि नै निर्धारण गरिएको थियो”, उनले भने, “मन्दिर गएर फर्कनका लागि हामीले दुई घण्टाभन्दा बढी समय लाग्ने भए पनि मात्र सात सय रुपैयाँमा व्यवस्था मिलाएका छौँ ।” डुङ्गामा यात्रुको सुरक्षा समेतलाई दृष्टिगत गर्दै एक पटकमा चार जनासम्म जानसक्ने व्यवस्था मिलाइएको छ ।
मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढाउनका लागि डुङ्गामा सहुलियत व्यवस्था गरिएको बताउँदै उनले दर्शन प्रयोजनका लागि मोटरबोटमा जान चाहनेका लागि पनि त्यस्तै सहुलियतको व्यस्था गरिएको जानकारी दिए । अध्यक्ष कँडेलका अनुसार बेगनास तालमा पर्यटकलाई लक्षित गरी हाल २८० वटा काठका डुङ्गा, नौ वटा प्याडल बोट, २६ फुटे डाँक र तीनवटा मोटरबोट रहेका छन् । डुङ्गा व्यवसायी सङ्घमा तीन सयभन्दा बढी सदस्य आवद्ध रहेको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका–३१ का अध्यक्ष ढकनाथ कँडेलले मन्दिरसहितका पूर्वाधार निर्माणसँगै यो धार्मिकस्थल सर्वसाधारणका लागि खुला भएको बताए । बराह क्षेत्रलाई संस्कृति, प्रकृति र प्रविधिसँग जोडेर पर्यटनको प्रमुख गन्तव्य बनाउन स्थानीय सरकारका तर्फबाट आवश्यक पहल हुने उनको भनाइ छ ।
बेगनास तालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रमा समेत पु¥याउने लक्ष्य राखिएको छ । डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका अवसरमा ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीयवासी सबैलाई राम्रो होस् भन्ने कामना गर्दै पूजाआजा गर्ने गरेको छ ।
मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथिमिति एवं पर्वमा दर्शनार्थी आउने गरेका छन् । बराह क्षेत्रसहित यस आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन एवं पर्यटकीय विकासलाई लक्षित गरी २०७५ मङ्सिर २२ गतेदेखि २९ गतेसम्म बेगनासताल क्षेत्रमा महायज्ञ गरिएको थियो । तत्कालीन महायज्ञ आयोजक मूल समितिका महासचिवसमेत रहनुभएका धु्रबराज अधिकारीका अनुसार महायज्ञमा कूल रु एक करोड चार लाख आम्दानी भएकामा सबै खर्च कटाएर रु ७६ लाख बचत भएको थियो । बचत रकमको ब्याजबाट यहाँका विभिन्न सामाजिक कामका गतिविधि अघि बढाइएको छ ।
बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका बेगनास बराह, वरपरका गोरखनाथ, अर्घौं मौला ठूलाकोट, बेगनास कोट, पचभैया कोट, रुपा कोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने लक्ष्य राखिएको थियो ।
महायज्ञपश्चात् उक्त क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जानकारी दिँदै अधिकारीले बेगनास ताल परिसरमा विश्राम गृह, स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताए । तालमा डुबेर बेपत्ता भएका व्यक्तिको उद्धारका लागि पितृ स्मृति कक्ष निर्माण गरिएको जानकारी दिँदै उनले बेगनास तालकै गाईघाटमा गाई तथा बाच्छीको मूर्ति स्थापना गरिएको बताए । हावाहुरी आदिका कारण हुनसक्ने सम्भाव्य जोखिमलाई लक्षित गरी उद्धार कक्षसमेत निर्माण गरिएको छ ।
बेगनास तालको संरक्षणसँगै यहाँस्थित बेगनास बराहको प्रचारप्रसार आवश्यक रहेको लेखनाथ उद्योग वाणिज्य सङ्घ पूर्वअध्यक्ष छत्रधर आत्रेय बताउँछन् । सङ्घकै सक्रियतामा ताल किनाराको रातमाटा क्षेत्रमा अङ्ग्रेजी अक्षरमा ‘बेगनास लेक’ लेखिएको ठूलो बोर्ड राखिएको छ । सङ्घको २०७९ मा सम्पन्न १८औँ लेखनाथ महोत्सवमा बेगनास ताल र यहाँका गतिविधिलाई बुझ्ने गरी डेमो पनि प्रदर्शन गरिएको थियो । बेगनास तालको बेगनास बराह क्षेत्रको धार्मिक पर्यटकीय महत्व उजागर हुनसके ताल र आसपासका क्षेत्रको विकास पनि सँगसँगै हुने स्थानीयवासीले आशा गरेका छन् ।
ताल र आसपासका स्थान, तालको मुहान स्याङ खुदीदेखि कपासे, कुसुन्डे, जिमिरे कुना, पिप्ले जलारी बस्ती, ड्यामसाइट आदि स्थलहरू यसबाट केही न केही रुपमा लाभान्वित हुने देखिन्छ ।
त्यस्तै ताल वरपरका बस्ती मन्धरे पार्क, अलैँचे, बाँस कुना, देउराली मन्दिर, कहेरे, रुपा बेगनास भ्यु टावर, काउरे, माझिकुना आदि स्थलको पनि यसबाट प्रवद्र्धन हुने देखिएको छ । बेगनास बराहको धार्मिक पर्यटकीय उपयोगसँगै आसपासका गोरखनाथ, अर्घौंमौला ठूलाकोट, बेगनासकोट, पचभैयाकोट, रुपाकोट, स्याक्लुङ कोटलगायतका कोट, पचभैया देउराली आदि धार्मिक क्षेत्रको पनि प्रवद्र्धन र विकास हुने विश्वास लिइएको स्थानीयवासी बताउँछन् ।



























































