काठमाडौँ – अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरुले निरन्तरता पाउने भएका छन् । अर्थमन्त्रालयका अनुसार एमसिसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन् ।


ADVERTISEMENT


“नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो”, अर्थमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ ।”


ADVERTISEMENT

# # #


यस्तै नेपालस्थित अमेरिकी दूतावासले पनि एक विज्ञप्ती जारी गर्दै अमेरिकी सरकारले नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिन सिफारिस गरेको जनाएको छ ।

नेपालमा आधुनिक विद्युत प्रशारण लाइन र सडक पूर्वाधारका लागि अमेरिकाको ५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको परियोजना अघि बढिरहेको छ ।

उक्त सहकार्यले नेपालको विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्‍याउँने विश्वास व्यक्त गरिएको छ ।