काठमाडौँ– नेपाली मूलकी क्षमता ढकालले लण्डनमा आयोजित “३९औं इन्टरनेसनल एस्ट्रोलोजी, वास्तु एन्ड टेरोट कन्फरेन्स युके–२०२५” मा ‘इन्टरनेसनल बेस्ट टेरोट कार्ड रिडर’ को प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छन्।
उक्त अवार्ड उनलाई टेरोट कार्डमार्फत हजारौं मानिसहरूलाई मार्गदर्शन तथा मानसिक सशक्तीकरणमा पुर्याएको योगदानका लागि प्रदान गरिएको हो। सम्मेलनको आयोजना असम बगिया ज्योतिष एन्ड तन्त्र अर्गनाइजेशनले गरेको थियो।
हाल लण्डनमा बसोबासित ढकाल वकालतसँगै टेरोट कार्ड रिडिङ, आध्यात्मिक उपचार (स्प्रिचुअल हिलिङ) तथा कानुनी परामर्श सेवामा समेत सक्रिय छन्। काठमाडौंमा जन्मिएकी उनले बेलायतलाई आफ्नो कर्मभूमिका रूपमा स्थापित गर्दै, अन्तर्राष्ट्रिय स्तरमा आध्यात्मिक सेवा तथा महिला सशक्तीकरणमा विशिष्ट योगदान दिँदै आएकी छन्।
सम्मान प्राप्तिपछि ढकालले बिकाश दुलाल गुरु र लोकराज पौडेल गुरुको सिफारिसप्रति आभार व्यक्त गर्दै सम्मेलन आयोजक सन्दीप बोसलाई पनि धन्यवाद दिइन्।
उनले भनिन्, ‘यो सम्मान पाउँदा म अत्यन्तै धन्य र गौरवान्वित महसुस गरिरहेकी छु। नेपाल र नेपाली समुदायको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न पाउँदा खुशी लागेको छ।’
उनको सेवा केवल नेपालीमा सीमित नभई, बेलायती, युरोपेली र दक्षिण एशियाली समुदायका धेरै व्यक्तिहरू लाभान्वित भएको जनाइएको छ। टेरोट कार्ड र आत्मिक उपचारका माध्यमबाट उनले मानसिक स्वास्थ्य, आन्तरिक शान्ति र जीवनका जटिल समस्याहरू समाधान गर्न उल्लेखनीय भूमिका खेलिरहेकी छन्।































































