काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकका लागि प्रस्ताव माग गरेको छ । क्यानले बुधबार एक सूचना जारी गर्दै आगामी तीन वर्षका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेटको जर्सीको मुख्य प्रायोजक खोजेको हो ।
जसका लागि प्रस्ताव पेश गर्न कम्पनी तथा ब्राण्डहरुलाई आह्वान गरेको हो । नेपाल सरकारको नियम अनुसार योग्य सबै ब्राण्डहरुले प्रस्ताव पेश गर्न पाउनेछन् । तीन वर्षका लागि हुने सम्झौताका लागि प्रस्तावको रकम वार्षिक कम्तिमा २ करोड हुनुपर्नेछ ।
क्यानका अनुसार मुख्य प्रायोजकले आफ्नो ब्राण्डको लोगो नेपाली टोलीको जर्सीको अघिल्तिर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नियम अनुसार राख्न पाउने छ ।
प्रस्ताव साउन १९ गते बिहान ११ बजेभित्र क्यान प्रधान कार्यालय मूलपानीमा पेश गर्नुपर्ने छ । क्यानले यसअघि गत वर्ष चैत्रमा पनि जर्सी प्रायोजकका लागि प्रस्ताव माग गरेको थियो । तर, उक्त प्रस्तावबारे कुनै जानकारी नदिई क्यानले नयाँ प्रस्ताव माग गरेको हो ।
यसपटकको प्रस्तावमा प्रयोजन रकमको न्यूनतम मूल्य पुरानै (२ करोड) राखे पनि वार्षिक १० प्रतिशत वृद्धि गर्ने प्रावधान भने क्यानले हटाएको छ ।
यसअघि शैक्षिक कम्पनी आईएनजी समूहको ‘माई सेकेण्ड टिचर’ले नेपाली टोलीको मुख्य प्रायोजन गरेको थियो । उक्त सम्झौताको रकम भने खुलाइएको थिएन ।
नेपाली पुरुष क्रिकेट टोली करिब १ वर्षदेखि जर्सी प्रायोजकविहीन रहेको छ । यू–१९ टोलीको जर्सी भने वाईवाईले प्रायोजन गरिरहेको छ ।

































































