काठमाडौँ – नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएपछि इन्द्रबहादुर बानियाँ लोकतन्त्रमा आन्तरिक तथा बाह्य संघर्षहरू स्वाभाविक भएको बताएका छन् ।
लोकतन्त्रमा दलका नेताले प्रभावकारी रूपमा कार्य सम्पादन नसके पार्टी कमजोर हुन सक्ने भएकाले नेतृत्व परिवर्तनको आवश्यकता पर्ने उनको भनाइ छ । बानियाँले पार्टीभित्रको विश्वासलाई मजबुत बनाउने उद्देश्यले कांग्रेसभित्र अहिले आन्तरिक प्रतिस्पर्धा भएको बताए ।
‘दलको नेताले ठीक ढंगले कार्य नगर्दा, राम्रोसँग कार्य सम्पादन नगर्दा दलीय व्यवस्थामा आफू कमजोर भइन्छ कि भनेर नेतृत्वको अदलीबदली हुन्छ ।’ उनले भने, ‘प्रजातन्त्र, संघीयता र समावेशीताको सुन्दर पक्ष नै यही हो । यो आन्तरिक प्रतिस्पर्धा भएको हो, यहाँ कसैको हार पनि छैन, कसैको जित पनि छैन ।’
उनले बहादुर सिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताका हैसियतले मुख्यमन्त्री बनेको उल्लेख गर्दै अहिले दलका नेताको हैसियत समाप्त भइसकेकोले मार्गप्रसस्त गर्नुपर्ने जिकिर गरे । मार्गप्रशस्त गरे परिस्थिति सहज ढंगले अघि बढ्ने तर त्यसो हुन नसके लोकतान्त्रिक अभ्यासअनुसार प्रक्रिया अपनाएर मुख्यमन्त्री लामालाई बिदा गरिने उनले बताए ।
‘उहाँ नेपाली काँग्रेसको बागमती प्रदेश संसदीय दलको हैसियतले मुख्यमन्त्री भएको हो । अहिले उहाँको दलको नेताको हैसियत गुमेको अवस्था छ ।’ उनले भने, ‘राजनीतिमा नैतिकता, इमान्दारिता, लोकतान्त्रिक प्रक्रिया र पार्टीका साथीहरुको कुरा मानेर उहाँले मार्ग प्रशस्त गरिदिए तुरुन्तै हुन्छ । नत्र भने लोकतन्त्रिक पद्दति र प्रक्रियामार्फत उहाँलाई सहज रुपमा विदाई गर्छौं ।’
त्यस्तै मुख्यमन्त्री लामाले संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कुनै आधार नरहेको जिकिर गरे । उनले आफू संविधानको भावना अनुसार अघि बढ्ने बताए । आफू नेतृत्वको सरकारबिरुद्ध दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नमिल्ने उनको तर्क छ ।
उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार नै छैन । हामी त संविधान अनुसार चल्ने हो ।’
बुधबार बागमती प्रदेशसभा सचिवालय मकवानपुरमा भएको निर्वाचनमा मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ दलको नेतामा निर्वाचित भएका थिए । मतदानमा बानियाँले २२ मत प्राप्त गरे भने लामाको पक्षमा १४ मत परेको थियो । त्यस्तै १ मत बदर भएको थियो । प्रदेशका कुल ३७ जना काँग्रेस सांसदहरूले मतदानमा भाग लिएका थिए ।
यसअघि संसदीय दलमा लामाविरुद्ध असन्तुष्टि बढ्दै गएपछि गत शुक्रवार अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । मत विभाजनमा लामाको विपक्षमा २२ मत परेको थियो भने पक्षमा १५ मत मात्रै परेको थियो । उक्त प्रस्ताव बहुमतले पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको थियो ।
































































