– नन्दी केशर पौड्याल
बागमती प्रदेश सरकारको नेतृत्व सम्हाल्दै मुख्यमन्त्रीको रूपमा सपथ लिँदा इन्द्रबहादुर बानियाँको अनुहारमा कुनै विजयको गर्व थिएन, बरु जिम्मेवारीको गम्भीरता थियो। राजनीति उनलाई अवसर होइन, उत्तरदायित्व लाग्छ।
“राजनीति व्यापार होइन, चरित्र हो, सेवा हो”—यो भनाइ उहाँको सार्वजनिक मन्तव्यमा मात्र सीमित छैन, जीवन दर्शनजस्तै लाग्छ। र, त्यही दर्शन अब कर्ममा रूपान्तरित हुन थालेको संकेत हामीले उहाँको केही प्राथमिक निर्णयहरूमा देख्न थालिसकेका छौं।
आफ्नो पारिश्रमिकबाट निर्वाचित क्षेत्रका विपन्न परिवारलाई घर बनाइदिने, जेहेन्दार विपन्न विद्यार्थीहरूलाई डाक्टर र नर्स पढ्न छात्रवृत्ति दिने निर्णय—यी जनतालाई देखाउने अभिनय होइनन्, यो त नीतिमा आत्मा घोलिएको नेतृत्वको प्रारम्भ हो। यस्ता कामबाट जनताले सरकारलाई आफूसँग नजिक अनुभव गर्छन्। कुनै पोस्टर, मञ्च वा भाषणबाट होइन, यथार्थ जीवन परिवर्तनबाट सरकारप्रति विश्वास पलाउँछ। उहाँले गरिरहेको प्रारम्भिक कार्यहरू त्यसैको सन्देश बोक्छन्।
राजनीतिक जीवनमा उहाँको संर्घष सधैँ ‘सही कुरा’मा उभिनुमा बित्यो। दुईपटक प्रदेशसभा सदस्य भएर पनि गुटगत राजनीतिका कारण मुख्यमन्त्री बन्न नसक्नु उहाँको कमजोरी थिएन, त्यो त निष्ठा र संयमता थाम्न नसक्ने राजनीतिक प्रवृत्तिको परिणाम थियो। तर अब परिस्थितिले उहाँलाई त्यो मोर्चामा उभ्याएको छ, जहाँ उहाँले निष्ठाको मूल्य चुकाउनुभएन, मूल्यको नै नेतृत्व गरिरहनुभएको छ।
मुख्यमन्त्री बानियाँको यो कार्यकाल सम्भवतः समयको हिसाबले छोटो हुनसक्छ। तर, नेतृत्वको मूल्य समयले होइन, कर्मले निर्धारण गर्छ। समय त एक वर्ष होलान्, तर कार्यहरूको छायाँ दशकौंसम्म देखिन सक्छ। अब यो अवसरलाई प्रयोग गरेर बागमतीलाई ‘राजधानी भएको प्रदेश’ मात्र होइन, ‘नमुना शासनको प्रदेश’ बनाउने अवसर छ।
बागमती प्रदेश राजधानी क्षेत्र मात्र होइन। यहाँ लोपोन्मुख भाषा, संस्कृति बोकेका थुप्रै जातजाति छन्स सीमान्तकृत समुदायहरू छन्स बिपन्न परिवारहरू, सीपविहीन युवा, सन्तुलनविहीन विकासका पीडित छन्। काठमाडौंबाट रामेछाप, दोलखा, रसुवा वा मकवानपुर पुगेपछि यो प्रदेशभित्रको अन्यायपूर्ण अन्तर देखिन्छ। त्यसैले विकास र सेवा सन्तुलन आवश्यक छ। मुख्यमन्त्रीको रूपमा बानियाँले यिनै अन्तरलाई सम्बोधन गर्ने जनमुखी कार्यक्रमहरू ल्याउने हो भने प्रदेशले साँच्चिकै ‘मेरो सरकार’ भन्ने अनुभूति पाउनेछ।
उहाँको निर्णय शैलीमा गरिमामय सादगी छ। जनतासँग संवाद गर्नुपर्ने आवश्यकतालाई उहाँले कार्यालयको भित्ताभित्र सीमित राख्नुहुन्न। उहाँको चाहना छ—जनता सरकारसँग बोलून्, सरकार जनतासँग सुनोस्। त्यसैले ‘मुख्यमन्त्री नागरिक संवाद’ कार्यक्रमजस्ता पहुँचयुक्त पहलहरू प्रदेश सरकारको संस्थागत व्यवहार बनून्। पारदर्शिता केवल कागजमा होइन, व्यवहारमा देखियोस्।
बिपन्न वर्गका बालबालिकाले नर्स वा डाक्टर बन्ने सपना देख्न पाउन्। जनजाति समुदायले आफ्ना भाषा र संस्कृति अझै पुस्तान्तर गरुन्। सीमान्तकृत वर्गको युवाले तालीम, रोजगारी, सशक्तिकरण पाओस्। प्रदेश सरकारका प्राथमिकताहरू यस्तै विषयमा केन्द्रित हुन्। हामी व्यवसायीक साझेदारका हैसियतले पनि यिनै विषयमा राज्यसँग सहकार्य गर्न तयार छौं।
मुख्यमन्त्रीज्यू, तपाईंको सोच, बोली र कर्ममा विवादभन्दा समन्वय, प्रचारभन्दा परिणाम, र सत्ता भन्दा सेवा देखिन्छ। यस्तो राजनीति अहिलेको नेपालको लागि अत्यावश्यक छ। तपाईंलाई संघको सरकारमा देख्ने चाहना हामीजस्ता शुभचिन्तकमा पहिल्यैदेखि थियो। अब तपाईँले प्रदेश सरकारमा देखाउने परिपक्वता, संयमता र परिणाममुखी दृष्टिले त्यो मार्ग थप खुला गरिदिनेछ भन्नेमा आशावादी छौं।
राजनीति एक यात्राजस्तै हो—जहाँ मोडहरू आउँछन्, तर गति, दिशा र उद्देश्य प्रष्ट भएको यात्रु मात्र गन्तव्यमा पुग्छ। तपाईंको नेतृत्व यात्रा अब निर्णायक मोडमा छ। यहाँबाट लिएको हरेक निर्णय, हरेक काम, हरेक जनसंवाद तपाईंको ‘नेतृत्वको परिचय’ बन्नेछ।
अन्त्यमा, तपाईंको भनाइ झल्किन्छ—‘राजनीति व्यापार होइन, चरित्र हो।’ यो वाक्य अब तपाईंको कर्मद्वारा पुष्टि होस्। बागमती प्रदेश सरकारको मुख्यमन्त्रीको यो पद तपाईंको लागि मात्र होइन, हजारौं नागरिकका सपना, अपेक्षा र विश्वासको केन्द्र बनेको छ। त्यसैले यो समयलाई ‘पदको अवधि’ होइन, ‘परिवर्तनको आरम्भ’को रूपमा लिनुहोस्। तपाईंको नेतृत्वले अब प्रदेशको विकास मात्र होइन, नेपाली राजनीतिमा एउटा सशक्त चरित्र निर्माण गरिदियोस्। शुभकामना ।































































