काठमाडौं–युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम रिपोर्ट आउन पाँच दिन लाग्ने भएको छ । फरेन्सिक मेडिसिन विभागसँग सीमित स्रोत–साधन भएकाले पोस्टमार्टम रिपोर्ट आउन ढिला हुने भएको हो । सबै मृतकको सनाखत गर्न शव महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि राखिएको छ ।


ADVERTISEMENT


फरेन्सिक मेडिसिन विभागका प्रा.डा. हरिहर वस्तीले सीमित स्रोत–साधनबीच काम गर्नुपर्ने भएकाले रिपोर्ट आउन केही दिन लाग्ने बताए । विभागमा भएका १३ कर्मचारीले सोमबार रातिदेखि निरन्तर पोस्टमार्टमका लागि नमुना संकलन गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


डा. वस्तीका अनुसार सोमबार रातिदेखि मृतकको हुलिया र जाहेरीसहितको विवरण बुझ्ने काम भइरहेको छ । विवरण बुझ्ने, पोस्टमार्टम गर्ने र परिवारका सदस्यलाई शव बुझाउने प्रक्रिया भएकाले केही दिन लाग्ने उनले बताए । सबैको विवरण बुझेपछि फरेन्सिक मेडिसिन विभागले पोस्टमार्टमको रिपोर्ट मृतकका परिवारका सदस्यलाई दिनेछ ।

नर्भिक अस्पतालमा उपचार गराइएका विमानका पाइलट अबिद सुल्तानको पनि मंगलबार मृत्यु भएपछि मृतकको संख्या ५० पुगेको छ । सोमबार अवतरणका क्रममा अनियन्त्रित भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाग्रस्त भएको थियो ।

४० शव पहिचान गर्नै गाह्रो
कम्तीमा ४० शव चिन्नै नसक्ने गरी जलेका छन् । सबै भाग जलेकाले कोठी र दागहरू खोज्न चिकित्सकलाई असहज भएको छ । विभागका अनुसार अहिलेसम्म युएस बंगला एयरलाइन्सका कर्मचारी कुनै प्रमाण लिएर उपस्थित भएका छैनन् । उनीहरूले विवरण नदिँदा समस्या भएको विभागले जनायो । –आजको नयाँ पत्रिकाबाट