मकवानपुर— बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले गाईजात्राको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।
एक सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले विशेषतः काठमाडौं उपत्यकामा परम्परागत रूपमा मनाइने गाईजात्रा पर्व अहिले देशैभरि फैलिएको उल्लेख गरेका छन्। “दुःख सबैलाई पर्छ, र जात्रामा सहभागी हुँदा पीडा कम हुन्छ भन्ने जनविश्वासले यो पर्व मनाउने गरिन्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।
बानियाँले गाईजात्राको अवसरमा प्रस्तुत गरिने व्यङ्ग्य, सांस्कृतिक नृत्य तथा झाँकीहरूले पर्वको मौलिकता झल्काउने बताएका छन्। उनले नेपालका मौलिक संस्कृति र परम्पराको निरन्तरता दिनुपर्नेमा जोड दिँदै गाईजात्रा जस्तो पर्वले सांस्कृतिक पहिचान संरक्षणमा टेवा पुर्याउने धारणा राखे।
“नेपालका मौलिक संस्कृतिको निरन्तरतामा विस्तारै कमी हुँदै गइरहेको वर्तमानमा, गाईजात्राको निरन्तरता र यसको महत्वलाई जोगाइराख्नु आजको आवश्यकता हो,” उनले उल्लेख लेखेका छन्।
गाईजात्रा पर्व विशेषगरी नेवार समुदायले मृतक आफन्तको सम्झनामा परम्परागत सांस्कृतिक रूपले मनाउने गरिन्छ। साथै, समाजमा व्याप्त विकृति, विसंगति, कुरीति र कुशासनलाई व्यङ्ग्यात्मक शैलीमा उजागर गर्ने पर्वको रूपमा समेत यसलाई लिइन्छ।



























































