काठमाडौं – सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । डीपीएलका निर्देशक सुवास शाहीले आईसीसीले आज (बुधबार) पत्र पठाउदै मान्यता दिएको बताएका छन् ।


ADVERTISEMENT


आईसीसीले डीपीएल–२ लाई मान्यता दिएसँगै अब अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीले पनि भाग लिन पाउने भएको छ । डीपीएलका निर्देशक शाहीले आईसीसीले डीपीएललाई मान्यता दिएको आफ्नो सदस्य राष्ट्रलाई सूचना पठाएको बताए ।


ADVERTISEMENT

# # #


क्यान निलम्बनपछि नेपाली क्रिकेट गतिविधि आईसीसीले हेरिरहेको हुदा आईसीसीबाट डीपीएलले मान्यता लिनु परेको हो । धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा चैत १७ गतेदेखि वैशाख १ सम्म डीपीएल सञ्चालन हुदैछ ।

यसअघि फागुन ९ गते अक्सनबाट सबै टिमले ११ जना खेलाडी र एक रणनैतिक खेलाडी गरी १२ जना खेलाडी लिई सकेका छन् । यसपटक रुस्लान डीपीएल–२ को टिममा काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराह धनगढी रहेका छन् ।

डीपीएलका नियम अनुसार सबै टिमले २ विदेशी खेलाडी आफ्नो टिममा राख्ने छन् । दोस्रो संस्करणको डीपीएलको विजेताले २५ लाख नगद पाउनेछ । त्यस्तै, उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्ने छन् ।

टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।